नेपालको जिडिपी भन्दा आफ्नो आम्दानी धेरै भएको मेटाले घमण्ड गर्‍याेः मन्त्री गुरूङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।

उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए ।

मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।

उनले भने, “अब ७ दिनभन्दा बढी समय दिन्न मैले । यसबिचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ? इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।”

उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए ।