काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत आवश्यकतामा स्वदेशी उत्पादनले आपूर्ति गर्ने र त्यसपछि बिजुली निर्यात बढाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।
मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद जबराले अहिले देशको राजश्वले साधारण खर्च समेत धान्न नसकेको अवस्था रहेको उल्लेख गर्दै, विदेशिएका युवाहरूको पसिनाबाट आएको रेमिट्यान्सले भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७५ प्रतिशत बराबरको वार्षिक सामान आयात गर्न सक्ने क्षमतामा पुर्याएको बताएका हुन् ।
उनका अनुसार हाल नेपालसँग १५ महिनाको आयात धान्न सक्ने क्षमता रहेको कुल विदेशी मुद्रा सञ्चिति करिब १५.६६ अर्ब अमेरिकी डलर छ। उनले भारतबाट विद्युत आयात भइरहे पनि वर्षायाममा नेपालले भारतलाई ७४४ मेगावाट विद्युत निर्यात गरेको जानकारी दिए। त्यस्तै, बंगलादेशलाई वर्षायामको ५ महिनाका लागि ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको समेत उनले बताए।
सांसद जबराले नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना भए पनि हाल मात्र ३५०० मेगावाट उत्पादन भइरहेको उल्लेख गर्दै, यस क्षेत्रको पूर्ण उपयोगका लागि स्वदेशी र विदेशी लगानी आवश्यक रहेको धारणा राखे।
“नेपाल सरकारले मात्र लगानी गरेर त्यो उद्देश्य पूरा गर्न सक्दैन,”उनले भने, “त्यसका लागि सरल कानुनी संरचना र भ्रष्टाचारमुक्त वातावरण अपरिहार्य हुन्छ, जुन अवस्था सरकारले हालसम्म सिर्जना गर्न सकेको छैन।”
उनले मुलुकको आर्थिक स्थायित्व र ऊर्जा क्षेत्रको समृद्धिका लागि लगानीमैत्री नीतिको निर्माण गर्न सरकारलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्