जैविक कृषि जागरण अभियान मधेश प्रदेशमा, मुख्यमन्त्रीदेखि किसानसम्मको सहभागिता


काठमाडाैँ । खाद्यका लागि कृषि अभियानले सुरू गरेको ‘जैविक कृषि जागरण अभियान’ अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा छ।

अभियानले प्रदेशका मुख्यमन्त्री, मन्त्री, स्थानीय जनप्रतिनिधि, कर्मचारी, किसान, कृषि विद्यार्थी, पत्रकार र अभियन्तासँग सक्रिय छलफल र अन्तर्क्रिया गर्दै आएको छ।

यात्राको आठौँ दिन अभियान टोलीले मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीसँग विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्‍यो।

कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशमा ‘कृषि उत्कृष्टता केन्द्र’ स्थापनाको तयारी भइरहेको जानकारी दिँदै ‘फिड द नेशन’ कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताए। कृषि क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै उनले कृषि जागरण अभियानहरू अत्यन्त आवश्यक रहेको धारणा राखे। “केवल अनुदानबाट मात्र कृषि विकास हुँदैन,” उनले भने, “जागरण, जनचेतना र प्रविधिको मेल आवश्यक छ।”

त्यसैगरी, कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले माटोको गुणस्तर गम्भीर रूपमा विग्रँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै रासायनिक मल र विषादीको विकल्पका रूपमा जैविक उपायको खोजी भइरहेको बताए। “प्रविधि मिल्नेबित्तिकै पकेट क्षेत्र घोषणा गरेर कार्यान्वयनमा जान्छौँ,” उनले भने ।

हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले कोदो, फापर, आलस र कुर्थी जस्ता परम्परागत बालीहरूमा उत्पादन प्रोत्साहन अनुदान दिइएको र त्यसको असरस्वरूप उत्पादनमा तीनगुणासम्म वृद्धि भएको बताए। “उपभोक्ताको खाद्य संस्कृति नै समस्याग्रस्त छ,” उनले भने, “त्यसैले यस्ता जागरण यात्राहरू आवश्यक छन्।”

यता चन्द्रपुर नगरपालिका, चन्द्रनगर गाउँपालिका र गुजरा नगरपालिकाका किसानहरू भने राज्यप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्छन्। किसानहरूका अनुसार, वर्षौंदेखि नापी गरिए पनि लालपुर्जा नपाएको, उत्पादनको ठुलो हिस्सा साहु-महाजन र एग्रोभेटमा जानु पर्ने र अन्ततः आफूहरू दीर्घरोग मात्रै लिएर बस्न बाध्य भएको अवस्था छ।

गुजरा नगरपालिकाका जोताहा किसानहरूले कृषिमा कडा मेहनत गरे पनि राज्यको प्रसार सेवा शून्य भएको गुनासो गरे। उनीहरूले नेपाली बीउभन्दा भारतीय बीउ उत्पादनमा राम्रो देखिएको पनि बताए।

यात्रा अन्तर्गत, अभियानले बर्दिवासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजका कृषि विद्यार्थीहरूसँग पनि जैविक खेतीको आवश्यकता र सम्भावनाका विषयमा छलफल गर्‍यो।

खाद्यका लागि कृषि अभियानले सञ्चालन गरेको यो जैविक कृषि जागरण यात्रा वैशाख ८ गते सुरू भएको हो। अभियान जेठ ७ गते काभ्रेपलाञ्चोकको पाँचखालमा समापन हुनेछ।