‘सिप मेला २०८२’ जेठ ७ गतेदेखि टुंडिखेलमा सुरू, २ हजारभन्दा बढीलाई तालिम दिने लक्ष्य


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिपयुक्त जनशक्तिको अभावलाई सम्बोधन गर्न ‘सिप मेला २०८२’ आगामी जेठ ७ गतेदेखि टुंडिखेलमा आयोजना गर्ने भएको छ। मेलामार्फत २ हजार ८२ जनालाई रोजगारीमूलक सिप तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ।

महानगरपालिकाको गौरव योजना अन्तर्गत सञ्चालन हुँदै आएको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला आयोजना गरिएको हो। उक्त कार्यक्रमले आर्थिक वर्ष २०८०र८१ देखि १५ हजार युवालाई सिपमूलक तालिम दिने र कम्तीमा ५ हजार जनालाई रोजगारी वा स्वरोजगारमा जोड्ने लक्ष्य लिएको छ।

मेलाको मूल उद्देश्य भनेको सिप नजानेहरूलाई सिप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने र श्रम बजारको माग अनुसार सिपयुक्त जनशक्ति उत्पादन गर्नु हो।

गत वर्ष पहिलोपटक आयोजित ‘सिप मेला’मा ६८ हजार ८६६ जनाले तालिमको लागि आवेदन दिएका थिए। सो मेलाबाट २ हजार ५७५ जनाले विभिन्न विधामा तालिम प्राप्त गरेका थिए, जसमा ५० प्रतिशतभन्दा बढी रोजगारीमा संलग्न भएका छन् भने धेरैजसो स्वरोजगारमा लागेका छन्।

यस वर्षको मेलामा पनि गतवर्ष तालिम लिन नपाएका व्यक्ति, काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक वा ठेलागाडामा व्यापार गर्नेहरूलाई प्राथमिकता दिइने महानगरले जनाएको छ। तर, तालिमका लागि सबै नेपाली नागरिक सहभागी हुन सक्नेछन्।

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरू तालिममा सहभागी हुन पाउने छन्। मेला ३० दिनसम्म चल्नेछ, जसमा दैनिक ६० वटा कक्षामा तालिम सञ्चालन गरिनेछ।

मेलापछि दुई दिने ‘पोस्ट मेला’ पनि आयोजना गरिनेछ, जसमा दीक्षान्त समारोह, प्रमाणपत्र वितरण तथा तालिम प्राप्त व्यक्तिहरूलाई उद्योग तथा व्यवसायसँग जोड्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

महानगरले ‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग’ जोड्दै अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्न सिप तालिमलाई मुख्य माध्यम बनाउँदै आएको जनाएको छ।