काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतमा उत्पादन गरिएको न्यूट्री–क्योर ब्राण्डको आहारपुरक खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागको आजको निर्णयअनुसार, भारतको अगुस्तो फर्मुलेशन प्रा. लि. बाट उत्पादन गरिएको उक्त खाद्य पदार्थ बीरगन्ज–१३ स्थित न्यूट्रिका फुड कन्सर्नले आयात गरी बायो लाइफकेम नेपालमार्फत वितरण गरिएको थियो।
तर, विभागमा उक्त उत्पादन दर्ता नगरिएको र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत आवश्यक आयात अनुमति नलिइ वितरण गरिएको पाइएको विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।
विभागले खाद्य ऐनको दफा ३८ अनुसार उक्त उत्पादन बजारबाट तुरुन्तै फिर्ता गरी विभागलाई जानकारी गराउन आयातकर्ता तथा वितरकलाई सूचित गरेको छ। साथै अन्य व्यवसायीहरूलाई पनि सो उत्पादन नबेच्न र नगर्न आग्रह गरिएको छ।
विभागका अनुसार निर्देशनको उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने छ।
प्रतिक्रिया दिनुहोस्