उद्योगी रामकुमार राठीलाई सरकारद्वारा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान


काठमाडाैँ । ६ दशकभन्दा बढी समयदेखि नेपाली चिया क्षेत्रको रोपण, प्रशोधन, बजारीकरण र निर्यातमा उल्लेखनीय योगदान दिएका वरिष्ठ उद्योगी रामकुमार राठीलाई सरकारले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।

२९ औं राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राठीलाई सम्मान स्वरूप दोसल्ला ओढाएर प्रमाणपत्रसहित उक्त अवार्ड प्रदान गरेको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री तथा बोर्डका अध्यक्ष रामनाथ अधिकारी र कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई सम्मान गरेका हुन्।

राठी नेपालका पहिलो टि टेस्टर (चिया परीक्षक) समेत हुन्। उनले भारतको कोलकत्तास्थित डी.सी. घोष एण्ड कम्पनीमा १९६८ देखि १९७० सम्म टि टेस्टिङ तालिम लिएका थिए। चीन भ्रमणका क्रममा टि टेस्टिङ प्रणाली देखेर आकर्षित भएका उनले स्नातकोत्तर तहमा टेस्टिङ, प्लान्टेशन र म्यानुफ्याक्चरिङको अध्ययन गरेका थिए।

नेपाल फर्किएपछि उनले सन् १९७२ मा आरके ओभर्सिज कम्पनी स्थापना गरी नेपाली चिया निर्यात सुरू गरे। त्यसबेला जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विजरल्याण्ड, अस्ट्रिया, इजिप्ट र इरानसम्म पुगेर नेपाली चियाको प्रचारप्रसार र निर्यातको मार्ग फराकिलो बनाएका थिए।

विक्रम संवत २०३३ मा ‘हिमाल चिया उद्योग प्रा.लि.’ स्थापना गरेका राठीले २०४६ मा निजी क्षेत्रबाट नेपालको पहाडी भेगमा पहिलो पटक चिया उत्पादन गर्ने उद्योग ‘हिमालयन रेन्ज चिया उद्योग प्रा.लि.’ ईलामको मालुममा सञ्चालनमा ल्याए।

त्यसपछि उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्ने ‘सुनकोशी चिया उद्योग’ स्थापना गरे भने २०७२ मा ईलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने ‘हिमालयन भ्याली प्रा.लि.’ स्थापना गरे। हाल राठी ‘राकुरा’ ब्रान्डमार्फत सिटिसी तथा अर्गानिक चियाको उत्पादन र निर्यात कार्यमा सक्रिय छन्।