काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले भारत र पाकिस्तानबिचको युद्धको चपेटामा पर्ने नेपाली नागरिकहरूको सुरक्षा र अन्य सम्भावित समस्याहरूको समाधानको आवश्यकता र व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
सांसदहरूले भारत र पाकिस्तान बिचको युद्धको गम्भीरतासमेत ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूको समस्यामा उचित समाधान र व्यवस्थापनको आवश्यकता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। सांसदहरूको मागपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारलाई यो विषयमा ध्यानाकर्षण गराएका थिए।
उनले भने, “भारत र पाकिस्तान बिच सिर्जित युद्धको अवस्थालाई ध्यानमा राख्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा र अन्य सम्भावित समस्याहरूको समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।”
यसअघि, सभामा सांसदहरूले भारत र पाकिस्तान बीचको बढ्दो तनाव र सम्भावित युद्धबाट नेपाललाई पर्नसक्ने असरको विश्लेषण गर्दै सरकारसँग पूर्वतयारी गर्न आग्रह गरेका थिए।
कश्मीरको पहलगाम क्षेत्रमा दुई साताअघि भएको आतंकवादी हमलाले भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना गरेको छ। भारतले अपरेसन सिन्दूर घोषणा गर्दै पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमलाको दाबी गरेको छ। पाकिस्तानले भने, उक्त हमलामा ३१ जनाको मृत्यु भएको जनाएको छ।
साथै, पाकिस्तानले उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी भारतले गरेको छ।
प्रतिक्रिया दिनुहोस्