जनताका आकांक्षाहरू सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएको छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शैली र संस्कृतिका साथ अगाडि बढ्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन् ।

आइतवार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नीति तथा कार्यक्रम राजनीतिक स्थिरताका लागि आएको बताएका हुन् । नीति तथा कार्यक्रमले सुशासन र विकासको बाटोलाई तिब्रता दिने गरी आएको बताए ।

उनले नेपाली जनताले हटाइ सकेको राजतन्त्र पुनस्र्थापनाका लागि हिंसात्मक गतिविधि गरी अराजकतालाई राजनीतिक आचरणको रुपमा स्थापित गराउने खोज्नेहरूलाई परास्त गर्नेगरी नीति तथा कार्यक्रमले मार्ग निदेश गर्ने बताए । उनले सत्ता साझेदारी सबै दलहरूसँग गम्भीर बहस र छलफल गरेर नीति तथा कार्यक्रम प्रस्तुत भएको जिकिर गरे ।

उनले संविधानको मार्गदर्शन लगायतका पक्षहरू र जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने तथा प्रभावकारी संयोजन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम छोटो आएकोमा आलोचना हुनसक्ने बताए। नीति तथा कार्यक्रम छोटो भएपनि यसमा समेटिएका विषयहरू विकासलाई तिब्रताका साथ अगाडि बढाउने ढंगले आएको दाबी गरे ।