काठमाडौँ । जुजु धौ (दही) मा टिस्यु पेपर, कागज तथा पानीमा नघुल्ने अन्य पदार्थहरू मिसाइएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरू तथ्यहीन रहेको पुष्टि भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वैशाख २६ गते भक्तपुरमा अवस्थित जुजु धौ उत्पादन तथा विक्री वितरणमा संलग्न उद्योगहरूमा अनुगमन गर्दा यस्तो कुनै कैफियत नपाइएको जनाएको छ।
विभागका वरिष्ठ अनुसन्धान अधिकृत सुमन धितालका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासंघका प्रतिनिधिहरू सहितको संयुक्त टोलीले लक्ष्मी दही भण्डार, सैंजु दुग्ध उद्योग लगायतका डेरी उद्योगहरूको स्थलगत अनुगमन गरेको थियो।
उक्त टोलीले जुजु धौमा टिस्यु पेपर, कागज वा अन्य अखाद्य वस्तु मिसावट भएको छ कि छैन भनि परिक्षण गर्दा कुनै पनि अवाञ्छित वस्तु फेला नपरेको उनले जानकारी दिए ।
साथै, अनुगमनको क्रममा उद्योगको उत्पादन स्थल, विक्री वितरण कक्ष, तयारी अवस्थामा रहेका दही र कच्चा पदार्थहरूको समेत निरीक्षण गरिएकोमा कुनै गम्भीर त्रुटि वा स्वच्छता तथा गुणस्तरसम्बन्धी कैफियत भेटिएको छैन।
विभागले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा यस्ता भ्रामक तथा तथ्यहिन सामग्रीहरू सार्वजनिक गर्दा उद्योगहरूमाथि नकारात्मक प्रभाव पर्ने मात्र नभई, राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पर्ने भएकाले यस्ता संवेदनशील विषयमा जानकारी प्रेषण गर्दा सबैलाई सजग र जिम्मेवार हुन आग्रह गरेको छ।
खाद्य पदार्थको गुणस्तर तथा स्वच्छतामा कुनै गुनासो वा उजुरी भएमा विभाग तथा मातहतका कार्यालयमा सूचना दिनसमेत विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधानहरू पालना गरी मात्र खाद्य उत्पादन तथा विक्री वितरण गर्न विभागले सबै व्यवसायीलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्