दुई महिनामा ४ खर्ब ३६ अर्ब विप्रेषण भित्रियो, वृद्धिदर २३.९ प्रतिशत


काठमाडौं । चालु आर्थिक वर्ष २०८३ ८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यस वर्ष वृद्धिदर तुलनात्मक रूपमा कम भए पनि विदेशमा कार्यरत नेपालीले पठाउने रकमको आकार भने बढेको छ ।

भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो रकम १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३।५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७।६ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा भने मिश्रित अवस्था देखिएको छ । पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९० हजार १९८ थियो ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५२ हजार १६३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४५ हजार ८८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्याङ्कले देखाएको छ ।