काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानमा सुनिश्चित गरिएका जनताको अधिकारलाई व्यवहारमा उतार्न सक्ने खालको बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद परियारले वर्तमान सरकारले संविधानमा उल्लेखित प्रावधानहरूको कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् । “वर्तमान संविधानले जे जस्तो व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्ने खालको बजेट ल्याउनुहोस्,” उनले भने ।
दुई ठूला दलको गठबन्धन सरकार भए पनि दल ठूलो हुनु मात्र पर्याप्त नरहेको उल्लेख गर्दै उनले राम्रो दलको आवश्यकता औंल्याए ।
सांसद परियारले सदनमा आरोप(प्रत्यारोपभन्दा पनि देश र जनताको वास्तविक समस्या पहिचान गरी ती विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा राखे । उनले नेपाली समाजको विकासका लागि वास्तविक अन्तरद्वन्द्वको पहिचान र सत्यका पक्षमा उभिन सक्ने आँट जरुरी रहेको बताए ।
जातीय विभेदका सवालमा बोल्दै परियारले दक्षिण एशियामा जातीय विभेदको जटिलता रहेको उल्लेख गरे । “हजारौं वर्षदेखि यो भूगोल जातीय विभेदले थिलोथिलो बनेको छ। हामी सत्य लुकाउन खोज्दैछौं, तर सत्य लुकाएर लुक्दैन,” उनले भने ।
उनले संसदलाई विचार प्रस्तुत गर्ने, बहस गर्ने र जनताको समस्या समाधान गर्ने थलोका रूपमा प्रयोग गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्