२२ वर्षदेखि अलपत्र पुष्पलाल राजमार्ग तुरुन्त निर्माण गर्न सांसद केसीको माग


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले २२ वर्षदेखि अलपत्र परेको पुष्पलाल राजमार्गको निर्माण प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले पुष्पलाल राजमार्गको निर्माण प्रक्रिया दशकौं अघिदेखि सुरू भए पनि अझैसम्म सम्पन्न हुन नसक्नु दुःखद भएको बताएका हुन् ।

उनले हिउँदमा धुलो र वर्षामा हिलोका कारण स्थानीय बासिन्दाका बालीनाली र स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै अब ढिलाइ नगरी ठेक्का प्रक्रिया अगाडि बढाउन माग गरे ।

“२२ वर्ष भइसक्यो, तर राजमार्गको हालत अझै उस्तै छ,” सांसद केसीले भने, “हिउँदमा धुलो, वर्षामा हिलोले जनताको जनजीवन कष्टकर बनेको छ। सांसद आउँदैछ भनेपछि जनता बाटोमा उभिन्छन्, तर म आफैं अर्को बाटो रोज्न बाध्य हुन्छु।”

केसीले पुष्पलाल राजमार्ग आफनो निर्वाचन क्षेत्रसँग जोडिएको भएकाले कम्तिमा मतदातालाई जवाफ दिनकै लागि भए पनि सरकारले यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

साथै, अबको आर्थिक वर्षको बजेटले राजमार्ग निर्माणको लागि आवश्यक व्यवस्था गर्ने विश्वास पनि उनले व्यक्त गरे ।