हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडाैँ । जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध पाँच करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव, सुजित कुमार साह र तत्कालीन नासु (हाल प्रमुखसमेत) बलीराम प्रसाद कुर्मीमाथि सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले बचतकर्ताको निक्षेप रकम कुनै विधिवत अभिलेख नराखी आफूखुसी अपचलन गरेको भन्ने उजुरीपछि अनुसन्धान सुरू गरिएको थियो। सो उजुरीका आधारमा हाल बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई उनी पुर्पक्षका लागि थुनामा छन्।

अनुसन्धानका क्रममा कुर्मीले पासबुक र लेजर बुकमा मात्र विवरण उल्लेख गरी कार्यालयको नगदी रजिष्टरमा नजनाई, बैंकमा दाखिला नगरी र केन्द्रीय कार्यालयलाई जानकारी नदिइ निक्षेप रकम अपचलन गरेको पाइएको छ। उनले तत्कालीन कार्यालय प्रमुखहरुसँग मिलेमतो गरी जनता तथा सेवाग्राहीबाट उठेको निक्षेप रकम साँवा ब्याजसहित कूल ५ करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ दुरुपयोग गरेको आयोगले जनाएको छ।

तत्कालीन पाँच कार्यालय प्रमुखले समेत रकम संकलन, लेखाजोखा, दाखिला र प्रमाणीकरण जस्ता प्रक्रियामा लापरबाही गर्दै कुर्मीको मिलेमतोमा रकम बाँडफाँड गरी मासेको देखिएको छ। आरोपित सबै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम भ्रष्टाचारको कसूरमा मुद्दा दायर गरिनुका साथै, सोही ऐनअनुसार बिगो बराबर जरिवाना र कैद सजाय मागदाबी गरिएको आयोगले जनाएको छ।