बिमा विश्वसनियतामा जोड दिन अध्यक्ष ओझाको आग्रह


काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूलाई विश्वसनियतामा केन्द्रित रहेर काम गर्न आग्रह गरेका छन् ।

बुधवार काठमाडौँमा आयोजित नेपाल बिमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बिमा क्षेत्रमा देखिएका कमी कमजोरीहरूलाई क्रमशः हटाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।

उनले सुधारलाई निरन्तर प्रक्रिया बताउँदै हालको मुख्य प्राथमिकता बिमाको विश्वसनियता बढाउनु रहेको स्पष्ट पारे। “हामी बिमाको विश्वसनियता बढाउने गरी काम गर्न तयार छौं,”ओझाले भने, “आजका दिनमा देखिएका कमजोरीहरू हटाउँदै जानेछौं। दाबी भुक्तानी, जीवन तथा निर्जीवन बिमाका गुनासाहरू क्रमशः घटाउँदै शून्यमा पुर्‍याउनु पर्छ।”

उनले प्राधिकरणमा उजुरीहरूको संख्या बढिरहेको उल्लेख गर्दै यसले बिमा क्षेत्रको विश्वासमा प्रश्न उठ्न सक्ने सम्भावना रहेको बताए । “उजुरी बढ्नुको अर्थ, हामी विश्वसनीय ढंगले काम गर्न सकिरहेका छैनौं कि भन्ने प्रश्न पनि उठ्छ,” उनले भने, “त्यसैले बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन अब सबैले जिम्मेवारीका साथ काम गर्नुपर्छ।”

अध्यक्ष ओझाले आउँदो एक वर्षको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियतामा केन्द्रित हुने जानकारी पनि दिए ।