‘नेपालमा कृषि बिमा’ पुस्तक सार्वजनिक, कृषि बिमा प्रणालीको विकासमा योगदान दिने विश्वास


काठमाडौँ। नेपालमा कृषि बिमा प्रणालीको इतिहास, वर्तमान अवस्था, चुनौती, सम्भावना र नीति सुधारको खाका प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपालमा कृषि बिमा’ शीर्षकको पुस्तक सार्वजनिक गरिएको छ।

बिमा विज्ञ डा. रविन्द्र घिमिरे, शिवसुन्दर घिमिरे, डा. गिरीप्रसाद कँडेल र सुदीप पौडेलको संयुक्त लेखनमा तयार पारिएको यस पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको हो।

पुस्तकले अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा बीमा व्यवसायीलाई मार्गनिर्देशन प्रदान गर्ने विश्वास गरिएको छ। लेखक डा। घिमिरेका अनुसार पुस्तकमा कृषि बिमाको सैद्धान्तिक आधारसँगै विश्व र नेपालको अभ्यासमा रहेका बिमा नीतिहरूको विवेचना गरिएको छ।

तथ्याङ्कसहित नेपालको कृषि बिमाको विकासक्रम, विगत र वर्तमान नीतिहरू, कार्यक्रमहरू तथा संस्थागत संरचनाको विश्लेषण पुस्तकमा समावेश गरिएको छ।

लेखक सुदीप पौडेलले बताएअनुसार पुस्तकमा कृषि क्षेत्रका जोखिम, तिनको व्यवस्थापन, विश्वव्यापी अभ्यासहरू, कानुनी आधार, अनुदान सम्बन्धी प्रावधान, प्रविधिको प्रयोग र निर्जीवन बिमा कम्पनीहरूको भूमिका विश्लेषण गरिएको छ। साथै, कृषि बिमा क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरूको योगदान र वर्तमानमा रहेका समस्या, चुनौती तथा सम्भावनाहरूको समेत गहिरो चर्चा गरिएको छ।