विनियोजन विधेयकले जनतामा आशा जगाएको सांसद गिरीको टिप्पणी


काठमाडौँ । नेकपा (एमाले) का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले अहिलेको विधेयकले जनताको तीव्र विकास चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको टिप्पणी गरेका हुन् । उनका अनुसार सरकारले विगतको अभ्यास दोहोर्याउने होइन अर्थतन्त्रमा ब्रेकथ्रू ल्याउने दिशामा काम गर्न खोजेको देखिएको छ ।

सांसद गिरीले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने जस्ता अभ्यासका कारण पूँजीगत खर्च न्यून हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै सरकारले अब ती कमजोरीहरू प्रति गम्भीर बन्नुपर्ने धारणा राखे ।

उनले पूँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउँदै प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीति लिन सरकारलाई सुझाव दिए ।

“राष्ट्र बैंकभित्र ६ खर्ब लगानीयोग्य पूँजी छ तर मान्छेहरू ऋण लिन जान्न चाहँदैनन् । १० महिना बितिसक्यो तर एक तिहाइ पूँजीगत खर्च पनि हुन सकेको छैन,” उनले भने, “खेत बाँझो छ तर युवालाई खेती गर्न रुचि छैन । उनीहरू विदेश जानको लागि आतुर छन् ।”

उनले सरकार ‘लोकरिझ्याइँ’का लागि होइन मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ संकल्पसहित अघि बढ्नुपर्नेमा जोड दिए ।