‘गेम चेन्जर’ आयोजना सम्पन्न गर्न सांसद पाण्डेको आग्रह, निजगढ विमानस्थल र बुढीगण्डकीमा बजेट केन्द्रित गर्न सुझाव


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना गेम चेन्जर प्रोजेक्टका रूपमा रहेकाले ती योजनामा विशेष प्राथमिकताका साथ बजेट व्यवस्था गर्नुपर्ने बताएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन सम्पन्न भएर पनि आयोजना अलपत्र अवस्थामा रहेको भन्दै अब उक्त विमानस्थलको निर्माणमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

त्यस्तै बुढीगण्डकी जलविद्युत आयोजना र अन्य जलाशययुक्त आयोजनामा समेत बजेटको स्पष्ट प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग वर्षौंदेखि अधुरो अवस्थामा रहेको भन्दै सांसद पाण्डेले ती आयोजना शीघ्र सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजनको माग गरेका छन् ।

सांसद पाण्डेले कम्युनिष्ट नेतृत्वको सरकारबाट जनताले सुशासन, रोजगारी सिर्जना, प्रविधिको विस्तार, अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रणालीको सुरुआत र भ्रष्टाचार नियन्त्रणको अपेक्षा राखेको उल्लेख गरे ।

उनले तोकिएको बजेट खर्च हुन नसक्ने ‘राष्ट्रिय महारोग’ को समाधान खोज्नुपर्ने भन्दै योजनाहरू प्रतिफलमुखी, परिणाममुखी र जनउत्तरदायी हुनुपर्नेमा जोड दिए।