काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ५४ ओटा जलविद्युत आयोजनासँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए ) प्रक्रिया अघि बढाउने तयारी गरेको छ। ती सबै आयोजना १० मेगावाटभन्दा बढी क्षमताका छन् भने २०८१ चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न गरिसकेका छन्।
प्राधिकरणको ९९४औं सञ्चालक समिति बैठक तथा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत ऊर्जा विकास मार्गचित्र २०८१ को कार्यान्वयनअनुसार सन् २०३५ सम्ममा नेपालको कुल विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखिएको छ। यसै योजनाअनुरूप उपयुक्त मापदण्ड पुरा गरेका आयोजना चयन गरेर पीपीए प्रक्रिया अगाडि बढाउन लागिएको हो।
विद्युत व्यापार विभागद्वारा प्रकाशित सूचनामा सम्बन्धित प्रवर्धक कम्पनीहरूले अद्यावधिक विवरण र आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्राधिकरणले आयोजनाहरूलाई प्रसारण लाइन र सवस्टेशनको उपलब्धता तथा लोड अवस्थाका आधारमा प्राथमिकताका आधारमा क्रमबद्ध गर्दै पीपीए प्रक्रिया अघि बढाउने जनाएको छ।
५४ वटा आयोजनाको नाम र विवरणसहितको सूची तथा आवश्यक कागजातहरूको विवरण प्राधिकरणको वेबसाइट www.nea.org.np मा प्रकाशित गरिएको छ।
प्रतिक्रिया दिनुहोस्