अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य छः शिक्षामन्त्री पन्त


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सांसदहरूबिच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका हुन् ।

उनले संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गरे । मन्त्री पन्तले संसद्मा चर्काचर्की बहस गर्ने र संसद बाहिर सँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताए ।

उनले संसद्मा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गरे ।