देशभर मौसममा बदली, केही स्थानमा वर्षासहित हिमपातको सम्भावना


काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न स्थानमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखिएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

यिनै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

महाशाखाले चट्याङ्गसहित वर्षा हुने सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।