लुम्बिनीलाई ‘विशिष्ट पहिचान भएको प्रदेश’ का रूपमा अघि बढाइने


काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लुम्बिनीलाई “विशिष्ट पहिचान भएको प्रदेश” का रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ। अनुपम सांस्कृतिक सम्पदा, अथाह प्राकृतिक स्रोतसाधन र विश्वप्रसिद्ध आस्था केन्द्र लुम्बिनीको सम्भावनालाई केन्द्रमा राखेर योजना निर्माण गरिएको जनाइएको छ।

नीति तथा कार्यक्रममा प्रदेशको विकासका लागि प्राथमिकता प्राप्त क्षेत्रहरूमा केन्द्रित हुने स्पष्ट गरिएको छ। नागरिकका आकांक्षालाई सम्बोधन गर्दै सरकारको प्रभावकारिता र सेवा प्रवाहको दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ।

“संविधान प्रदत्त अधिकारको सीमाभित्र रही सन्तुलित, विशिष्ट र प्रदेशको पृथक आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रमहरू ल्याइनेछन्,” नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र नवप्रवर्तनजस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखी समावेशी र दिगो विकासका लागि सरकार अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल गरेपछि आगामी दिनमा बजेटमार्फत कार्यान्वयन गर्ने तयारी गरेको छ।