काठमाडाैँ । कृषि, सहकारी तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १५ लाख ६ सय ९२ थान बेर्ना र बिरुवा बिक्री वितरण गरिसकेको जानकारी दिएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको सोधपुछको जवाफ दिँदै मन्त्री अधिकारीले आगामी जेठ र असार महिनामा बाँकी बिरुवा वितरणको लक्ष्य पूरा हुने बताएका हुन्। उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना र बिरुवा नर्सरी तथा स्रोत केन्द्रहरूलाई विशेष रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
मन्त्री अधिकारीले नेपालमा मुख्य रूपमा स्याउ, ओखर, मेवा, अंगुर, नरिवल र अनारजस्ता फलफूलहरू भारत, चीन लगायतका देशहरूबाट आयात हुने गरेको बताए।
चालु आर्थिक वर्ष ०८१/०८२ को चैत्र मसान्तसम्म खाद्यान्नको आयात करिब ४७ अर्ब ८० करोड रुपैयाँ र निर्यात मात्र ६ करोड २० लाख रुपैयाँ रहेको पनि उनले जानकारी दिए ।
खाद्यान्न बालीमा व्यापार घाटा ४७ अर्ब ७० करोड रुपैयाँ र तरकारी बालीको आयात ३१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने निर्यात ४० लाख ८२ हजार रुपैयाँ मात्र रहेको तथ्याङ्क प्रस्तुत गरे । फलफूल बालीको आयात १८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने निर्यात मात्र १ करोड ७० लाख रुपैयाँ रहेको जनाए । मन्त्री अधिकारीले सबै बालीहरूको उत्पादन सामान्य रूपमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्