काठमाडाैँ । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य ( एमआरपी) सहितको लेबल लगाउनुपर्ने कानूनी व्यवस्थालाई कडाईकासाथ कार्यान्वयनमा ल्याउने संकेत गरेको छ ।
व्यापरीहरूले विरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरुलाई अनुगमन गरी थप कारबाही गर्ने संकेत गरेको हो ।
अधिकतम विक्री मूल्यले बजार बिग्रिएको र जरिबानाले व्यवसायी हतोत्साहित भएको भन्दै उनीहरु एमआरपी लागू नगराउन ‘लबिइङ’ मा छन् । तर त्यो लर्बिङ कानूनको धज्जि उडाउँदै उपभोक्ताको हित विपरित भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाईका साथ नियम लागू गर्ने बताएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले २०७५ मा आएको ऐन अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु दुखद् भएको भन्दै आफ्नो मिसन एमआरपी जसरी भएपनि कार्यान्वयन गर्ने रहेको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा पत्रकारसँग उपभोक्ता सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आफूले अहिले एमआरपि कडाइका साथ लागू गर्नेगरी काम गरिरहेको उल्लेख गरे । उनकाअनुसार अहिले खाद्यन्न, मोटरसाइकल स्पेर्यस पार्टस्, मेडिकल सामग्री कुनैमा पनि एमआरपी लागू भएको देखिँदैन ।
त्यति मात्रै नभई विद्यालयहरूमा पनि जथाभावी शुल्क लिने गरेको बताउँदै यसका लागि सरकार आफैँ सक्रिय भएर एमआरपी लागू गर्न लागेको दाहालले बताए । मेडिकल सम्बन्धी सामानमा पनि जथाभाबी रूपमा रकम असुल गर्ने गरेको पाइएको उनको भनाइ छ ।
उनकाअनुसार मोटर स्पेयरपार्टसहरुको एमआरपी मेटाएर वा मूल्य नराखेर विक्री गरिरहेका छन् । विभागले अनुगमन गरेर कारबाहीसँगै एमआरपी लागू गर्न सचेत पार्दैछ ।
बजारलाई स्वस्थ बनाउन सरकार मात्रै नभई निजी क्षेत्र समेत आफैँ लाग्नुपर्नेमा उनको भनाइ छ । अनावश्यक रूपमा विदेशी ब्राण्डहरू भित्रिरहँदा त्यसले निकट भविष्यमै बजारलाई ठूलो समस्यामा पार्नसक्ने जोखिम रहेको समेत उनले बताए ।
दाहालले वस्तुहरुको अनुगमनमा जाँदा अहिले व्यापारी, आयातकर्ताहरुले घेराबन्दी समेत गर्ने गरेको भन्दै आफू नडराउने स्पष्ट पारेका छन् ।
सरकारले एमआरपी कडाइका साथ लागू गर्ने बताइरहँदा व्यवसायीहरुले विरोध गरिरहेका छन् । अनाधिकृत व्यापारलाई नियन्त्रण गर्न सरकार लाग्नु सकारात्मक भएपनि एमआरपीका नाममा उद्योगी व्यापारीलाई तर्साउन नहुने उनीहरुको भनाइ छ । निजी क्षेत्रका संस्थाहरुले तत्काल एमआरपी लागू गर्न कठिन समेत रहेको बताउछन् ।
हालै मात्र चार व्यापारिक संगठनले विज्ञप्ति नै जारी गरेर स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा एमआरपी सहित लेबल लगाउन सहज नभएको बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र काठमाडौं उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गरी विभागको निर्देशन तत्कालै लागू गर्न सम्भव नभएको बताएका छन् ।
जारी विज्ञप्तिमा कोभिड–१९ र विश्वव्यापी मन्दी लगायत कारण मुलुकमा अवस्थित उद्योग, व्यापार, श्रमिकलाई पारिश्रमिक, बैंकलाई साँवा–ब्याज, विद्युत प्राधिकरणलाई बिजुली महशुल लगायत खर्च जेनतेन धान्दै अर्थतन्त्र चलायमान बनाउँदै आएकाले पनि तत्कालै नेपालमा आयात र उत्पादन हुने वस्तुमा एमआरपी लेबल लगाउन नसकिने उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, “चामल उत्पादन हुने ठाउँ वीरगञ्जमा प्रतिबोरा २ हजार पर्दछ । त्यही चामल ढुवानी खर्चसहित हुम्ला, जुम्लामा प्रतिबोरा ३ हजार रुपैयाँ पर्दछ । यस परिवेशमा एमआरपी कति राख्ने ? २ हजार कि ३ हजार ? त्यसमा पनि ढुवानी खर्च परिवर्तन भइरहने भएकाले एमआरपी लगाउन सकिँदैन ।”
उनीहरुले नेपालजस्तो भौगोलिक विकटता भएको मुलुक र महँगो ढुवानी भाडा रहेको अवस्थामा मुलुकभरि एउटै दरमा सामान बिक्री गर्न एमआरपी तोक्न सम्भव नभएको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्