गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग


काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम थालिरहँदा खोलानाला, नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गर्दै, विक्री वितरण र निर्यात गर्न दिन निजी क्षेत्रले माग गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाहरुले सरकारलाई बजेटमा सुझाव दिँदै त्यस्ता वस्तुहरु अहिले खेर गइरहेको भन्दै आगामी बजेटमा त्यसखालको कार्यक्रम ल्याउन भनेका हुन् ।

उद्योग वाणिज्य महासंघले दिएको सुझावमा भनिएको छ, “गिटि रोडा ढुंगा उत्खनन, बिक्रि वितरण र निर्यात सम्बन्धमा आवश्यक कार्यविधि बनाई आन्तरिक खपत (अन्दाजी वार्षिक २ करोड घनमिटर) भन्दा बढी परिमाणलाई निर्यात गर्न पाउने व्यवस्था गरिनुपर्छ ।”

उद्योग वाणिज्य महासंघकाअनुसार नदी उकासका कारण खेतीमा समेत प्रभाव परिरहेको र भारत बंगलादेशमा अबको केही बर्षमै माग कम हुने देखिएकाले तत्काल उपयोग र निर्यात खुला गर्नुपर्छ । निजी क्षेत्रले यस्तो कार्यक्रम ल्याए अर्थमन्त्रीलाई बलियो साथ दिने समेत घोषणा गरेको छ ।

बजेटबारे सुझाव दिँदै एफएनसीसीआईले भनेको छ, “माननीय मन्त्रीज्युले यसअघिको बजेटमा हाम्रो आग्रहमा उक्त व्यवस्था गरेपनि पछि विशेषगरी सामाजिक सञ्जालमा विरोधका कारण पछाडि हट्नुपरेको थियो । यसपटक हामी सरकारसँग यस विषयमा सँगै रहनेछौँ र साथ दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।”

यता, नेपाल उद्योग परिसंघले पनि प्राकृतिक स्रोत साधनमाथि लगाइका कडा प्रावधान हटाउन सरकारसँग माग गरेको छ । उसले त्यस्ता कानूनहरुले करोडौं पर्ने खेर गइरहेका प्राकृतिक स्रोतहरु उपयोग गर्न नपाएको बताएको छ । 

उसले बजेटमा सुझाव दिँदै भनेको छ, “प्राकृतिक सम्पदाको दिगो उपयोग हुनेगरी हाल कायम रहेका कठोर नीति नियमहरूको पुनरावलोकन गर्न अत्यावश्यक छ । उद्योगहरूका लागि वन क्षेत्रको उपयोग, काष्ठ तथा गैह्रकाष्ठ वस्तुहरूको उपयोग, जडिबुटी, ढुँङ्गा, गिट्टी, पानी, चुनढुङ्गा, खानी तथा खनिजजन्य सम्पदाहरूको दिगो उपभोग हुनेगरी प्रचलित कठोर कानूनहरूको सरलिकरण गर्नुपर्छ ।”

यसअघि अर्थमन्त्री भएकै बेला विष्णु पौडेलले बजेटमा त्यसबारे कार्यक्रम राखेका थिए । तर प्रकृतिक स्रोत साधनको चर्को दोहन हुने भन्दै चर्को विरोध भएपछि त्यो कार्यान्वयनलाई सरकारले कार्यान्वयनमा लैजान सकेको थिएन ।  

अहिले पनि प्राकृतिक स्रोत साधनको अवैध दोहोन रोकिएको छैन । यसमा राज्यले गम्भीरता नदेखाएको भन्दै अदालतमा समेत मुद्दा परेको थियो । सर्वाेच्च अदालतले गत माघमा यसबारे परमादेश जारी गर्दै ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी विक्री व्यवस्थापनका लागि कानून बनाएर कार्यान्वयन गर्न भनेको थियो ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन बनाउन परमादेश जारी गरेको लामोसमय बितेपनि काम नै शुरु भएको छैन ।

उद्योग वाणिज्य महासंघले बजेटमा गिटी ढुंगाको मात्रै चासो दिएको छैन । उसले इआईएकोे अध्ययन र स्वीकृति ६ महिनाभित्र हुने र आइइ भित्र पर्ने आयोजनाको दायरा बढाई ३ महिना भित्र स्वीकृति गर्ने व्यवस्था आवश्यक रहेको बताएको छ ।

इआइ र आइइलाई लगानी रकमसँग नजोडी वातावरणीय प्रभावका आधारमा बाध्यकारी बनाउनुपर्ने उसको माग छ । स्वदेशीे काठले नै आन्तरिक माग परिपूर्ति गरी निकासी समेत गर्नसक्ने सम्भावना भएकाले वर्षेनी अर्बाैंकाे काठ र काठजन्य उत्पादन आयात गर्ने अवस्थाको अन्त्य गरी स्वदेशी काठको उपयोगलाई सहज बनाउन प्रचलित बन सम्बन्धी ऐन कानून र प्रक्रियाहरू सरलिकरण गर्न समेत महासंघले भनेको छ ।

महासंघकाअनुसार वनजन्य उद्योगबारे ऐनमा व्यवस्था भएपनि व्यवहारिक कठिनाइ भएको हुँदा यस्ता उद्योग स्थापनाका लागि सहजीकरण गरिनुपर्छ ।