काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन तथा अनुगमन उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिको पूर्ण बैठकले पारित गरेको छ।
केही भाषिक सुधारसहित प्रतिवेदनलाई पारित गर्दै समितिले यसलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छानबिन उपसमितिका संयोजक तथा सांसद राजेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतिवेदनमा विमानस्थल निर्माणको प्रारम्भदेखि नै विभिन्न खालका अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ। ठेक्का प्रक्रिया, निर्माण चरण र कर छुट लगायतका विषयमा गम्भीर आर्थिक तथा प्राविधिक त्रुटि र गैरकानुनी कार्यहरू भएको ठहर गरिएको छ।
समितिका अनुसार ठेक्का प्रक्रिया सुरु गर्ने क्रममा नै अनियमितता र भ्रष्टाचार देखिएको छ। त्यस्तै, निर्माण प्रक्रियामा पनि प्राविधिक र आर्थिक अनियमितता भेटिएको छ। ठेक्का सम्झौताको विपरीत करिब २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबरको कर छुट दिइएको उल्लेख छ जुन ठूला अनियमितताको प्रमाण रहेको संयोजक लिङ्देनले बताए ।
प्रतिवेदनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको आरम्भदेखि हालसम्म भएका सम्पूर्ण अनियमिततामा गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको जनाएको छ। साथै यस्ता अनियमितता र भ्रष्टाचारमा संलग्न सबै व्यक्तिहरूलाई कानुनी कारबाही गर्नुपर्ने स्पष्ट सिफारिस गरिएको छ।



प्रतिक्रिया दिनुहोस्