काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१/०८२) को तेस्रो त्रैमास (साउनदेखि चैत मसान्त) सम्ममा नेपालका जीवन बिमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ ओटा जीवन बिमा कम्पनीहरूबाट गरिएको उक्त लगानी वित्तीय क्षेत्रमा तीव्र विस्तार भैरहेको संकेत मानिएको छ।
सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको देखिएको छ। कम्पनीले एक्लैले १ खर्ब ८७ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १ खर्ब १३ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको लगानी ७२ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले ६६ अर्ब २३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ। राष्ट्रिय बिमा कम्पनीको लगानी ६५ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ रहेको छ।
अन्य बिमा कम्पनीहरूको लगानी पनि उल्लेख्य मात्रामा छ। एसियन लाइफ इन्स्योरेन्सले ४५ अर्ब २४ करोड ४० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३९ अर्ब २३ करोड ८४ लाख रुपैयाँ, मेट लाइफले ३१ अर्ब २७ करोड ९९ लाख रुपैयाँ, सिटिजन लाइफले २२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ, र सानिमा रिलायन्स लाइफले २० अर्ब ८४ करोड ९३ लाख रुपैयाँ लगानी गरेका छन्।
त्यसैगरी, रिलायबल नेपाल लाइफको १९ अर्ब ४८ करोड ८२ लाख, आइएमई लाइफको १६ अर्ब ७८ करोड ४९ लाख, प्रभु महालक्ष्मी लाइफको १६ अर्ब ९७ करोड ४४ लाख र सन नेपाल लाइफको १३ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ लगानी रहेको छ।
लगानीको ठूलो हिस्सा वाणिज्य बैंकहरूमा गरिएको मुद्दति निक्षेपमा केन्द्रित छ, जसमा मात्रै ५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ राखिएको छ। यस्तै, विकास बैंक, फाइनान्स कम्पनी, पूर्वाधार बैंकहरूमा पनि उल्लेख्य मात्रामा लगानी गरिएको देखिन्छ। सरकारले जारी गरेको बचतपत्र तथा ऋणपत्रमा पनि अर्बौँ रुपैयाँ लगानी गरिएको छ।
बिमा कम्पनीहरूले पब्लिक कम्पनीका साधारण र अग्राधिकार शेयर, बन्ड तथा डिबेन्चरमा समेत लगानी बढाएका छन्। साथै, कृषि, ऊर्जा, पर्यटन, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा पनि लगानीको विस्तार गरिएको छ। केबलकार, सौर्य ऊर्जा, जलविद्युत् परियोजनालगायत पूर्वाधार निर्माण तथा सेवा क्षेत्रका व्यवसायहरूमा समेत बिमा कम्पनीहरूको लगानी पुगेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्