सीमाबाट अनधिकृत भित्रिएका माछामा फर्मालिनको प्रयोग हुने गरेको छ, तत्काल रोकौँः मुख्यमन्त्री सिंह


काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रूपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताएका छन् ।

अवैध रूपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताएका हुन्। जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गरे। जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताए । 

“हामी खुला बोर्डरमा छौँ । हाम्रो खुला सीमाना भएको हिसावले धेरै सामानहरु यताबाट उतार  उताबाट यता भइरहेको छ । त्यो चाहेर पनि हामीले रोक्नसक्ने स्थिति छैन । राष्ट्रलाई कुखुरा, अण्डा, माछामा आत्मनिर्भर भइसकेको थियो । तथापि बोर्डरबाट अनधिकृत रुपमा आएर यहाँका किसानहरु ठूलो मर्कामा परेका छन्,” उनले भने ।

मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गरे। प्रहरी समायोजन गर्न पनि माग गरे । सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने बताए ।