काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई व्यंग्यात्मक शैलीमा समर्थन जनाउँदै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
थापाले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, “मित्र प्रम केपी ओली कहिले काहीँ ठिकै बोल्नु हुन्छ। उहाँले भन्नु भयो ‘राजा ल्याउने भए आफ्नै घरको राजगद्दीमा राख्नु।’ धन्यवाद प्रम, हामीले खोजेकै त्यही हो। राजाको आफ्नै घर नारायणहिटी राजदरवारको राजगद्दीमा राजा राख्ने हो।”
थापाले थप लेखेका छन्, “बरु नारायणहिटी दरबार सफा सुग्घर गर्न लगाई दिने हो कि ?” पूर्वराजतन्त्रको पक्षमा खुला अभिव्यक्ति दिँदै आएका थापाको यो भनाइले हालै राजनीतिक वृत्तमा चर्चा पाएको राजसंस्थाबारेको बहसलाई थप चर्काएको छ।
केपी ओलीले हालै दिएको अभिव्यक्तिमा राजसंस्था पुनर्स्थापनाबारेको प्रस्तावलाई व्यंग्यात्मक शैलीमा आलोचना गर्दै, ‘राजा ल्याउने हो भने आफ्नै घरमा राख’ भन्ने टिप्पणी गरेका थिए। यसै अभिव्यक्तिको सन्दर्भमा थापाले समर्थन गर्दै आफूहरूको माग स्पष्ट पारेका हुन्।
प्रतिक्रिया दिनुहोस्