काठमाडौँ । देशभर पछिल्लो समय पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रभावका कारण सातै प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रहने र एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशसँगै अन्य पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतः सफा देखिएको छ ।
बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले नै चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि यस्तै प्रकृति दोहोरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।
मौसममा हुने यस प्रकारको परिवर्तनले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य अवस्था, सडक तथा हवाई यातायातमा असर पुर्याउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।
महाशाखाले अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुहरूलाई पूर्वतयारीसहित यात्रा गर्न र बाढी, पहिरोको सम्भावना भएका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउनसमेत सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस्