ललितपुर । ई–आर्ट्स नेपालद्वारा आयोजित ‘हिमालयन आर्ट क्याम्प २०२५’ शनिबार साँझदेखि पुनः सुरू भएको छ। पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा सुरू भएको यस क्याम्पअन्तर्गत स्वदेशी तथा विदेशी कलाकारहरूले तयार पारेका चित्रकलाहरू प्रदर्शनीमा राखिएको छ।
हिमालयन आर्ट क्याम्पको उद्देश्य नेपाली तथा विदेशी कलाकारलाई एउटै प्लेटफर्ममा ल्याई सिर्जनात्मक संवाद र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्नु रहेको आयोजकहरूले बताएका छन्। प्रदर्शनीले सांस्कृतिक एकता र सिर्जनशीलताको सन्देश दिनेसमेत विश्वास गरिएको छ।
उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर विश्व सम्पदा सूचीमा परेको ऐतिहासिक शहर भएको उल्लेख गर्दै २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका सम्पदाहरू पुनर्निर्माण सम्पन्न भइसकेको बताए।
उनले नरसिंह मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा रहेको जानकारी दिंदै, महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणमा निरन्तर सहयोग गर्दै आइरहेको स्पष्ट पारे।
प्रदर्शनी आगामी मे २८ तारिख (जेठ १४ गते) सम्म जारी रहनेछ। ग्यालरी प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने आयोजकहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्