इन्फोडेभलपर्सद्वारा ‘क्लिक टू करिअर’ कार्यक्रम सुरु


काठमाडौं । आइटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रबिधि बिषय पढ्दै गरेका विद्यार्थीहरूका लागि करियर विकास गर्न भन्दै ‘क्लिक टू करिअर’ कार्यक्रम सुरु गरेको छ ।

यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाहरूलाई आईटी उद्योगको लागि आवस्यक पर्ने सिप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस कार्यक्रमले आईटी उद्योग र एकेडेमिया बिचको दूरीलाई पनि कम गर्न सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ । कार्यक्रमलाई संस्थागत गर्न कार्यक्रमको आफ्नै वेबसाइट निर्माण गरिएको छ ।

कार्यक्रम अन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँच भन्दा बढी कलेजहरूमा ‘क्लिक टू करिअर’ कार्यक्रम सञ्चालन गरिसकेको छ । कम्पनीले सन्चालनक गरेको परीक्षा मार्फत करिब २०० बिद्यार्थीहरूलाई आजदेखि विभिन्न विधामा प्रशिक्षण प्रदान गर्ने छ ।

सहभागिहरूलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टहरूमा संलग्न गराएर प्रशिक्षण दिने काम हुनेछ । इन्फोडेभलपर्समा कार्यरत बिशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ्ग तथा मार्गदर्शन समेत गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सिओओ डा. राजिब सुब्बाले जानकारी दिए ।

कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ । यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन , बिजनेश एनालिस्ट र फ्ल्टर जस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासको लागि विद्यार्थीलाई सहयोग गर्दछ ।

यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमता अनुसार सहभागीहरुले रोजगारको अवसर पनि प्राप्त गर्ने सुब्बाको भनाई छ ।