पर्यटन विभागले अपनाएको विकेन्द्रिकरण शैली : स्थानीय तहमा हस्तान्तरण गरिएका साना आयोजना प्रभावकारी



काठमाडौँ । पर्यटन विभागले चालु आर्थिक वर्षमा आफू मातहतका साना योजना स्थानीय तहलाई हस्तान्तरण गरेपछि सहज भएको निष्कर्ष निकालेको छ ।

विभागको प्राथमिकतामा रहेका द ग्रेट हिमालयन ट्रेल,कल्चरल ट्रेल, टाँकुरा कार्यक्रम, सांस्कृति धार्मिक पर्यटकीय मार्गजस्ता ठुला आयोजनाबाहेक साना आयोजनालाई स्थानीय तहमा हस्तान्तरण गरिएको थियो ।

विभागले स्थानीय तहमा हस्तान्तरण गरेको आयोजना प्रभावकारी भएको निष्कर्ष निकालेको हो ।

पर्यटन विभागले चालु आर्थिक वर्ष ०८१/०८२ मा ७० करोड रुपैयाँ बराबरका झण्डै ८७ वटा आयोजना स्थानीय तहमा हस्तान्तरण गरेको थियो ।

रकमका हिसाबले हस्तान्तरण गरिएका आयोजनाहरू विभागको कुल बजेटको झण्डै आधा हो ।

विभागको १ खर्ब ५७ करोड रुपैयाँ बजेटमध्ये ७० करोड रुपैयाँ बराबरका बजेट स्थानीय तहमा पठाइएको थियो । मुलुक संघीयतामा गइसकेपछि पनि स-साना आयोजना समेत विभाग आफैले हेर्दै आएको थियो ।

विभागको नेतृत्व सम्हालेपछि महानिर्देशक डा.नारायणप्रसाद रेग्मीले आर्थिक वर्ष २०८१/०८२ मा साना आयोजनाहरू स्थानीय तहलाई अख्तियारी दिने निर्णय गरेका थिए ।

महानिर्देशक रेग्मीले भने,“ विगतमा यतै(पर्यटन विभाग)बाट ठेक्का लगाउने गरिन्थ्यो । केहीको रकम फ्रिज भएर जान्थ्यो । साना कार्यक्रम अहिले स्थानीय तहमा पठाइएको छ । स्थानीय तहमा पूर्वाधार हेर्ने साथीहरू हुनुहुन्छ । जनप्रतिनिधि हुनुहुन्छ यस्ता कार्यक्रम उहाँहरूकै हो । कार्यक्रम पनि स्थानीय हो । काम राम्रो भएको छ । अहिले गुनासो आएको छैन ।”

विगतमा साना कार्यक्रम विभागबाटै सञ्चालन गर्दा ठुलो रकम अनुगमन र अध्ययनमै जाने गरेको थियो ।

स्थानीय तहमा हस्तान्तरण गरेपछि विभागलाई पनि सजिलो भएको छ भने कार्यान्वयन पक्ष पनि राम्रो देखिएको छ ।

महानिर्देशक डा. रेग्मीले भने,“विभागको देशभरी आयोजनाहरू व्यवस्थान गर्न सक्ने जनशक्ति छैन । प्राविधिक जनशक्ति थोरै छन् जसका कारणले समयमै कार्यान्वयन गर्न सक्ने सम्भावना काम भयो । दोस्रो साना आयोजनाको रकम अध्ययन अनुगमनमै सकिने अवस्था बनेपछि स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।”