बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनूस्, दण्डित गरिन्छः उर्जामन्त्री खड्का


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको बताएका छन् ।

आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले विद्युत जानु नेपालमा विद्युत कम भएर नभइ विपद्जन्य घटनाले पारेको अवरोध रहेको बताए । सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको उनकाे भनाइ छ । उनले कृत्रिम कुराहरु प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताए ।

मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको बताएका छन् । विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।

मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिए । नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको भएपनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको उनकाे भनाइ छ ।

आतंक फैल्याउने र दुःख दिने हिसावले टेलिफोन गर्नेहरुको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरे । मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने बताए ।