गृहमन्त्रीको राजीनामाको विपक्षीको मागबारे एमालेः धान काट्ने मुसा, दोष पाउने भ्यागुता ?


काठमाडाैँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गरेका छन् । 

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गरेका हुन् । उनले कर्मचारीहरूमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए ।

कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरूलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उनको भनाइ छ । उनले प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाए ।

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले मंगलवारको सभाको बैठकमा नाराबाजी गरेका थिए ।