काठमाडौँ । नेपालको तयारी पोशाक उद्योगलाई दिगो, प्रतिस्पर्धात्मक र विश्व बजारमैत्री बनाउने उद्देश्यका साथ सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघ बिचको सहकार्य औपचारिक रूपमा सुरू भएको छ।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले यसअघि नै सम्झौता भइसकेको सहकार्य आजदेखि कार्यान्वयनमा आएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले तयारी पोशाक क्षेत्रलाई आधुनिक र दिगो बनाउन, रोजगारी सिर्जना गर्न, उत्पादनमा वातावरणमैत्री अभ्यास लागू गर्न तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली तयारी पोशाकलाई स्थापित गर्न सोलिड्यारीड्याडसँग सहकार्य सुरु गरिएको बताए ।
“सोलिड्यारीड्याड भन्ने संस्था ५० भन्दा बढी मुलुकमा कृषि, तयारी पोशाक, चिया र पशुपालनका क्षेत्रमा काम गर्दै आएको छ। नेपालमा भने उसले तयारी पोशाक र चियाको क्षेत्रमा मात्रै काम गर्ने भएको छ,” अध्यक्ष पाण्डेले भने ।
उनका अनुसार यो साझेदारीले तयारी पोशाक क्षेत्रका समस्या पहिचान गर्दै समाधानतर्फ अघि बढ्न, उत्पादनमा उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन, वातावरणप्रति उत्तरदायी कार्यपद्धति, बजार विस्तार, निर्यात प्रवर्द्धन र ‘ग्रिन गार्मेन्ट भिलेज’ स्थापना जस्ता क्षेत्रमा सहयोग गर्नेछ।
संघ र सोलिड्यारीड्याडका प्रतिनिधिहरूबिच नियमित छलफलमार्फत रणनीति तय गरिने र त्यसको आधारमा काम अघि बढाइने पनि उहाँले जानकारी दिए । “डिसेम्बरमै सम्झौता भइसकेको थियो तर विविध कारणले गर्दा कार्यक्रम गरेर काम सुरु गर्न केही समय लाग्यो,” अध्यक्ष पाण्डेले भने, “अब काम औपचारिक रूपमा सुरू भएको छ, सोलिड्यारीड्याडले आफ्नो टोलीसमेत पठाउनेछ र सरकारले गर्नुपर्ने काममा समेत मिलेर समन्वय गर्नेछौं।”
उनले नेपालको तयारी पोशाक निर्यात एक सय गुणा बढाउन सकिने सम्भावना रहेको भन्दै त्यसतर्फ दीर्घकालीन योजना बनाइने उल्लेख गरे । प्रारम्भमा तयारी पोशाक क्षेत्रमा काम अघि बढाइने र त्यसपछि मात्रै अन्य क्षेत्रमा विस्तार गरिने योजना सोलिड्यारीड्याडको रहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्