काठमाडौँ । संघीय संसद्का दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजेका लागि र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको छ ।
उनले बजेट वक्तव्यसहित राजस्व तथा खर्चको वार्षिक अनुमानबारे संसदलाई जानकारी गराउनेछन् । प्रस्तावमाथि आजै सांसदहरूले धारणा राख्ने कार्यक्रमसमेत रहेको छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उता, राष्ट्रियसभाको बैठकमा पनि महत्वपूर्ण विधेयकमाथि छलफल हुने भएको छ । उपप्रधानमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सो संशोधनलाई सहमति दिइयोस् भन्ने प्रस्तावसमेत आजको बैठकमा प्रस्तुत गरिनेछ ।
संसदका दुवै सदनको बैठकले बजेट सत्रको प्रारम्भिक छलफललाई औपचारिक बनाउने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेटबारे सांसदहरूको धारणा, आलोचना र सुझाव आजदेखि क्रमशः प्रस्तुत हुँदै जानेछ ।
प्रतिक्रिया दिनुहोस्