बजेटले चुनौति सम्बोधन गर्ने र क्षमता बढाउनेतर्फ ध्यान दिएको छैनः नारायणकाजी श्रेष्ठ


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटलाई यथास्थितिवादी र प्रशासनिक दस्तावेजको रूपमा मात्र आएको आरोप लगाएका छन् ।

बुधवार राष्ट्रिय सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले बजेटले मुलुकको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक आवश्यकतालाई सम्बोधन गर्न नसकेको धारणा राखेका हुन् । उनले भने, “यो बजेट दृढ निश्चय, स्पष्ट सोच र संकल्प विना ल्याइएको कामचलाउ प्रशासनिक बजेट हो। अहिलेको राष्ट्रिय आवश्यकता राजनीतिक, आर्थिक र वित्तीय दस्तावेजका रूपमा बजेट आउनुपर्ने थियो, तर त्यसो हुन सकेन।”

श्रेष्ठले बजेटले सामाजिक न्यायसहितको समृद्धिमा फड्को मार्नुपर्ने वर्तमान राष्ट्रिय कार्यभारलाई सम्बोधन नगरेको बताए । उनले भने, “आजको आवश्यकता थियो नयाँ सोच, ठूला सम्भावनालाई सम्बोधन गर्ने, पूँजीगत खर्च कार्यान्वयन क्षमता बढाउने र मितव्ययिताको बाटो समाउने बजेट। तर, बजेटले ती विषयमा चासो देखाउन सकेन। यसले जनतामा निराशा, आक्रोश र असन्तुष्टि बढाएको छ, जसको फाइदा प्रतिगामी र पुनरुत्थानवादी शक्तिहरू उठ्न थालेका छन्।”

श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मात्र प्रतिगमनको खतरा अन्त्य गर्ने अचूक अस्त्रको रूपमा प्रस्तुत गरे । बजेटले राजनीतिक, आर्थिक रुपान्तरण र जनअपेक्षाअनुसारको डेलिभरी दिन नसकेको भन्दै उनले सरकारको नीति तथा कार्यक्रमकै आधारमा यस्तो परिणाम आएको दाबी गरे ।

उनले बजेटमा ४० प्रतिशत राजस्व चुहावट भएको अर्थविद्हरुकै स्वीकारोक्ति उद्धृत गर्दै त्यसतर्फ सरकारले गम्भीर ध्यान नदिएको आरोप पनि लगाए ।

सांसद श्रेष्ठले आजको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बजेटलाई यथास्थितिवादी भन्दै पुनः संशोधन र पुनर्विचारको आवश्यकता रहेको बताए ।