काठमाडाैँ । जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ ।
डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्वको आयोजनामा अनियमितता भएको भनि दिएकाे उजुरीका आधारमा आजको लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमललाल मोदीले कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता भएको बताए।
“कुनैपनि ठेक्का लगाउँदा मपदण्ड हुन्छ । मापदण्डमा चार वटा कम्पनी राखिएको थियो । चार वटामा २ वटालाई पहिल्यै फालिए । उनीहरुको मापदण्ड पुगेन । दुई वटा कम्पनी छानिएको मध्येमा सिनो हाइड्रोपावरकै डकुमेण्ट जोवाइन्ट कम्पनी जुन छ , जेसीई–एएनके, ऐनके भन्ने जुन छ, उनीहरूले लिएर कपि पेस्ट गरेर राखेका रहेछन् । ति डकुमेन्टहरू गुगलमा राखेर चेक गर्नुपर्छ । उनीहरूले पेश गरेको विवरण गुगलमा मैले राखेर चेक गर्दा कुनै पनि हाइड्रोपावर बनाएको देखिन्न । गाउँ छ, शहर छ, त्यो लोकेशनमा कुनै हाइड्रोपावर देखिन्न,” उनले भने ।
नेपाली काँग्रेस सांसद राजन केसीले झुटो जालसाझी गरेर गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताए । उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गरे ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरूबारे प्राविधिकहरूलाई राखेर छानविन गरिनुपर्ने बताए ।
केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानविन थालेको थियो ।
लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्