काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक एंव सांसद महेश बर्तौलाले आगामी आइतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताएका छन् ।
शुक्रवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताएका हुन्।
उनले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गरे । मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गरे । साथै, उनले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गरे । उनले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहो¥याए ।
“आइतवारदेखिको बैठक सहज ढङ्गले अगाडी बढ्छ । यहीँ हिसावले हरेक दिन आउने, सूचना टाँस गरेर फर्किरहने, प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने, नगरौँ भन्दा नहुने भन्ने कुराको दिनको रिपिटेशन सधैँ हुने अवस्था बन्दैन । संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा पनि हामी जोडिनुपर्छ । कानून पारित गर्नुपर्ने कार्यभार छन् । बजेटमाथि छलफल भएको छैन, त्यसलाई पारित गर्नुपर्ने दिशामा जानुपर्छ । आगामी दिनहरूमा पनि यस्तै परिस्थितिहरू आउने, सूचना टाँस गर्ने, फर्कने अवस्था बन्दैन । हाउस अगाडी बढ्छ,” उनले भने ।
उनले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्