भारतमा कोरोना बढेसँगै नेपालमा सतर्कता, १७ स्थल र ३ हवाई नाकामा निगरानी कडा


काठमाडाैँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमणको जोखिम न्यूनिकरण गर्न पूर्वतयारीका सबै काम सम्पन्न गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा फैलने अघिल्ला अनुभवका आधारमा तयारीमा जुटिएको जनाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार पछिल्ला दुई सातादेखि संक्रमण नियन्त्रणका लागि तयारीका काम तीव्र गतिमा अघि बढाइएको छ। उनले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भारतमा संक्रमण बढेपछि नेपालमा पनि चाँडै असर देखिन सक्ने भएकाले नाकामा हेल्थ डेस्कमार्फत निगरानी कडाइ गरिएको बताए।

प्रवक्ता बुढाथोकीका अनुसार भारतसँग जोडिएका १७ स्थल नाका र ३ हवाई नाकामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सतर्क बनाइएको छ। नाकाबाट आउने सबैको आरडिटि परीक्षण गरिँदैछ भने पोजेटिभ वा नेगेटिभ जे भए पनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न अनुरोध गरिएको छ। देशभित्र वा बाहिर जहाँसुकै रहेका लक्षणयुक्त व्यक्तिहरूलाई पनि एक सातासम्म आइसोलेसनमा बस्न र समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गरिएको छ।

स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभाव नरहेको भन्दै डा। बुढाथोकीले आकस्मिक अवस्थामा तुरुन्तै काम गर्नसक्ने गरी आवश्यक टोली तयारी अवस्थामा राखिएको जानकारी दिए। देशभर २५ वटा हव हस्पिटल र २ हजारभन्दा बढी सेटलाइट हस्पिटल तयारी अवस्थामा राखिएको छ। संक्रमण बढ्दै गयो भने उपलब्ध स्रोतसाधनले ९० हजारदेखि १ लाख संक्रमितलाई व्यवस्थापन गर्न सक्ने गरी तयारी मिलाइएको उनले स्पष्ट पारे।

देशभर ६ सयभन्दा बढी प्रयोगशालाबाट परीक्षण रिपोर्टको निगरानी केन्द्र र प्रदेशस्तरबाट भइरहेको छ। सातै प्रदेशका हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरहरू सक्रिय बनाइसकिएको छ भने आवश्यकता परेमा प्रत्येक वडास्तरसम्म पुगेर इमर्जेन्सी टिम परिचालन गर्न सकिने तयारी गरिएको छ।

यसबीच, डा। बुढाथोकीले कोभिडको जोखिमसँगै मनसुनका कारण फैलिने झाडापखाला, टाइफाइड, डेङ्गु, मलेरिया, हैजाजस्ता रोगहरू पनि चुनौती बन्न सक्ने भन्दै जनस्तरमा सचेतना आवश्यक रहेको बताए। उनले खानेपानीको सरसफाइ, मास्क प्रयोग, भिडभाडमा नजाने, फास्टफुड र बासी खानाबाट टाढा रहने, धूम्रपान र मद्यपान नगर्ने बानीले स्वास्थ्य संकट न्यूनीकरण गर्न सकिने उल्लेख गरे।

कोरोना संक्रमण र अन्य प्रकोपको सामना गर्न आवश्यक स्वास्थ्य सामग्रीको मौज्दात सुनिश्चित गरिसकिएको मन्त्रालयको दाबी छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी राहत तथा उद्धारको तयारी गरिएको छ। भौगोलिक विविधता र कठिनाइलाई ध्यानमा राख्दै २५ वटा हव हस्पिटलमा इमर्जेन्सी लजिस्टिक ट्यांकर राखिएको छ भने सबै अस्पताल, क्यान्टिन र अन्य स्वास्थ्य संस्थालाई १५ दिन पुग्ने सामग्री भण्डारण गर्न भनिएको छ।

डा. बुढाथोकीका अनुसार पछिल्लो मनसुनमा विगतको तुलनामा बढी गर्मी र वर्षा हुने अनुमानका आधारमा स्वास्थ्य मन्त्रालयले रणनीति बनाइसकेको छ। जलवायु परिवर्तनको असरले एकातिर पहाडी क्षेत्रमा पहिरो र हिमपातको जोखिम बढाएको छ भने तराईमा हिट स्ट्रोकको खतरा बढेको छ। त्यसैले भूमि तथा हवाई दुबै मार्गबाट राहत तथा उद्धार सेवा पुर्‍याउने गरी गृह मन्त्रालय, नेपाली सेना र अन्य निकायसँग समन्वय गरिँदैछ।