कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गरेका छन् ।

उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयन ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे । उनले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना संक्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताए ।

उनले नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिए ।