ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न, केही दिनमै सार्वजनिक यातायात सञ्चालन हुने


काठमाडाैँ । ललितपुरको ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा सडक विभागको नेतृत्व टोलीले निर्माण स्थलको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षणपछि मन्त्री दाहालले पत्रकारहरूसँग कुरा गर्दै फ्लाईओभर निर्माण कार्य नौलो अभ्यास भएकाले केही ढिलाइ भएको स्वीकार गरे । उनले अन्य निर्माणाधीन योजनाहरूलाई पनि मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिए ।

सडक विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भइसकेको छ र अब केही दिनभित्र सार्वजनिक यातायात सञ्चालन गरिनेछ।

यस्तै, सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले फ्लाईओभरको मध्यभागमा डिभाइडर राख्ने र अन्य सामान्य कामहरू बाँकी रहेको जानकारी दिए । उनका अनुसार आगामी दुई–तीन दिनभित्र बाँकी कार्यहरू सकिनेछन् र त्यसपछि फ्लाईओभर सार्वजनिक प्रयोगका लागि खुला गरिनेछ।

निर्माण कार्य तोकिएको समयमै सम्पन्न नहुँदा मन्त्री दाहालले पटक–पटक निरीक्षण तथा अनुगमन गर्दै यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए । फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।