काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिकाले आर्थिक अनुशासन विपरीत सार्वजनिक रकम खर्च गरी शुभकामना सन्देश तथा शैक्षिक क्यालेन्डर छपाइ गरेको खुलासा भएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८२ को प्रतिवेदनअनुसार पालिकाले नयाँ वर्ष, विजयादशमी र दीपावलीको अवसरमा विभिन्न पत्रपत्रिका र भित्तेपात्रोमा शुभकामना सन्देश प्रकाशन गर्नुका साथै विद्यालयमा वितरण गर्न शैक्षिक क्यालेन्डर पनि छपाएको उल्लेख छ।
यस क्रममा सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले जारी गरेको ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८’ को दफा ६(२) उल्लङ्घन भएको महालेखा परीक्षकको ठहर छ।
उक्त दफामा सरकारी खर्चमा शुभकामना कार्ड छपाइ गर्न वा शुभकामना सन्देश प्रकाशन वा प्रसारण गर्न नपाइने प्रावधान स्पष्ट रूपमा उल्लेख गरिएको छ। यस्तै, सूचना तथा प्रसारण विभागबाहेक अन्य कुनै पनि निकायले क्यालेन्डर र डायरी छपाइ गर्न नपाउने व्यवस्था पनि उक्त मापदण्डमा रहेको छ।
तर भीरकोट नगरपालिकाले यी कानुनी मापदण्डको अवज्ञा गर्दै उक्त प्रयोजनमा ९ लाख ८५ हजार ४१३ खर्च गरेको देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा यसलाई अनियमित खर्च भन्दै टिप्पणी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्