दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी वर्षको आय–व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नेछन् ।
सरकारी तयारीअनुसार, आगामी वर्षको लागि प्रदेश सरकारले करिब ३९ अर्ब रुपैयाँको बजेट ल्याउन लागिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी बजेटमा स्रोत परिचालनमा देखिएको चुनौती, खर्चको प्रभावकारिता र प्राथमिकताका पुनःनिर्धारणका आधारमा बजेटको आकार केही सन्तुलित बनाउने प्रदेश सरकारको भनाई छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याउन लागिएको उल्लेख गर्दै भनेका छन्, “प्रदेशबासीको विकासप्रतिको तीव्र चाहनालाई बजेटले प्राथमिकतामा राखेको छ । कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रलाई समृद्धिको आधारका रूपमा मानेका छौँ ।” उनले यो बजेटले लुम्बिनी प्रदेशको सामाजिक र आर्थिक रूपान्तरणमा टेवा र्पुयाउने विश्वास व्यक्त गरे ।
बजेटमा कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
कृषिमा यान्त्रीकरण, बीउ तथा मलको आपूर्ति, सिँचाइ पहुँच विस्तार, कृषि बजारको सुधार, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, सहुलियत ऋण र बीमा प्रणालीजस्ता कार्यक्रम समेट्ने तयारी लुम्बिनी प्रदेश सरकारको छ ।
पूर्वाधार विकासका लागि सडक, पुल, सिँचाइ, खानेपानी, ऊर्जा, आवास र डिजिटल पूर्वाधारमा पर्याप्त बजेट विनियोजन गरिनेछ । प्रदेश राजमार्ग विस्तार, ग्रामीण सडक स्तरोन्नति, नदी नियन्त्रण र स्थानीय पूर्वाधार निर्माणमा लगानी बढाइने छ ।
पर्यटन प्रवर्धनका लागि बौद्ध दर्शन मार्ग विकास, लुम्बिनी क्षेत्रको पूर्वाधार सुधार र आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रम सञ्चालन गरिनेछ। लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्ने रणनीति बजेटमार्फत अघि बढाउने लुम्बिनी प्रदेश सरकारको तयारी छ ।
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा, विद्यालय सुधार योजना, तालिम केन्द्र स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिइनेछ ।
स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेष उपचार सेवा, सुरक्षित मातृत्व कार्यक्रम र दुर्गम क्षेत्रमा जनशक्ति तथा औषधिको पहुँच विस्तारमा बजेट केन्द्रित गर्ने लुम्बिनी प्रदेश सरकारको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्