देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्ने बताए ।

कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताए ।

अर्थमन्त्री पौडेलकाअनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताए ।

उनले भने, –‘भूगोलका हिसावले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं । संस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौं । त्यसअर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापी आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन । विभिन्न सन्दर्भमा अध्ययनका शिलशिलामा श्रम, व्यवसायका शिलशिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन् ।’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरुलाई पौडेलले आह्वान गर्नुभयो । पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताउनु भयो ।