काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संविधानले परिकल्पना गरेको ‘तीन खम्बे’ अर्थनीतिलाई बेवास्ता गरेर नवउदारवादी धारमा गएको आरोप लगाएका छन् ।
बिहीवार प्रतिनिधि सभाको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले समाजवाद उन्मुख अर्थतन्त्र भन्ने संवैधानिक मार्गदर्शन बजेटले नअपनाएको दाबी गरेका हुन्। “अमेरिकासमेत संरक्षणवादतर्फ मोडिँदै गर्दा हामी अझै नवउदारवादलाई पछ्याइरहेकामा अर्थतन्त्र कसरी सुधार हुन्छ ?” सांसद शर्माको प्रश्न थियो।
शर्माले पुँजी निर्माणको आवश्यकता बुझ्न नसकेको, उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन नदिएको र किसान–मजदुरमैत्री कार्यक्रम समावेश नगरेको भन्दै बजेट असन्तुलित भएको टिप्पणी गरे । उनका अनुसार चालू खर्च कटौती र साना योजना हटाउने आवाज उठे पनि बजेटमा त्यसको प्रभावकारी प्रतिबिम्ब देखिएन।
उनले संघीयताको आत्मा विपरीत स्थानीय तहलाई आवश्यक स्रोत, साधन र संरचना नदिइएको, जबकि जनताको घरमै पुग्ने सेवा संघीय व्यवस्थाको प्रमुख उद्देश्य भएको स्मरण गराए । “संविधान कार्यान्वयनमै अवरोध सिर्जना हुँदा समितिबाट पास भएका विधेयकसमेत सदनमै रोकिन पुगेका छन्,” उनले भने, “समयमै कानून नबन्दा समस्यै समस्या देखिएको छ।”
स्रोत व्यवस्थापनतर्फ नेपालसँग आन्तरिक ऋण उठाउने र वैदेशिक ऋण भित्र्याउने दुवै क्षमतामा संकट देखिएको सांसद शर्माको भनाइ थियो।
शर्माले नेपाली विशेषतामा आधारित समाजवादी अर्थतन्त्रको खाका एवं सुशासनसहितको पुँजी निर्माणलाई बजेटले प्राथमिकता दिनुुपर्नेमा आफूहरू निराश भएको बताए ।
प्रतिक्रिया दिनुहोस्