अनौपचारिक क्षेत्रको दूध औपचारिक बनाउने उद्देश्यसहित कास्कीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडाैँ । राष्ट्रिय दूध विकास बोर्डको आयोजनामा अनौपचारिक क्षेत्रको दूधलाई औपचारिक प्रणालीमा समेट्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्बन्धित सरकारी निकाय, डेरी उद्योग, सहकारी संघ र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद न्यौपाने लगायत अन्य संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। ती कार्यपत्र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दूध विकास बोर्डका उपकार्यकारी निर्देशक डा.बालक चौधरी र कास्की जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि दिनेश श्रेष्ठले खाद्य वस्तुहरू सधैं स्वच्छ र गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए। डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष न्यौपानेले दूध तथा दुग्धजन्य उत्पादनहरू औपचारिक क्षेत्रमा मात्रै उत्पादन र वितरण गर्नुपर्ने धारणा राखे।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर कुँवरले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा दिनु उद्योगीहरूको जिम्मेवारी भएको बताए। डेरी उद्योग संघका प्रतिनिधि दशरथ सिलवालले अनौपचारिक रूपमा दूधको कारोबार भइरहँदा राज्यले ठूलो मात्रामा कर गुमाइरहेको उल्लेख गरे।

कार्यक्रमका सभापति डा. यादवले अनौपचारिक क्षेत्रलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न आवश्यक नीति निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य र छलफल अपरिहार्य रहेको बताए।

कार्यक्रम सञ्चालन महासचिव राम आचार्यले गरेका थिए भने कार्यक्रमको अन्त्यमा स्वदेशी उत्पादनको प्रवर्धनस्वरूप सहभागीहरूलाई दही, चिउरा, दूध र आइसक्रिम सेवन गराइएको थियो ।