आजदेखि ग्वार्को ओभरपास सञ्चालनमा आउने, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन हुने


ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास आजदेखि सवारी साधनका लागि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे उक्त ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७८ पुस २७ गतेदेखि सुरू भएको ग्वार्को फ्लाईओभर निर्माण कार्य तोकिएको समयमै पूरा हुन सकेकाे थिएन् । निर्माणको जिम्मा पाएको आशिष–समानान्तर–रेलिगियर जेभी नामक ठेकेदार कम्पनीले समयमै काम नसक्दा आर्थिक जरिवानासमेत भोग्नुपरेको थियाे ।

ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ । ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ भने बीचको पुल खण्ड ३६.२ मिटरको छ । पुलको चौडाइ १६.४ मिटर रहेको छ, जसमा चार लेन सवारी मार्ग सञ्चालन हुने गरी डिजाइन गरिएको छ ।

यो पुल यान्त्रिक स्थायित्वका लागि आवश्यक ‘माटो सुधार प्रविधि’ अपनाएर निर्माण गरिएको छ, जसले भविष्यमा हुने जमिन धसावट र संरचनागत समस्या न्यून गर्ने अपेक्षा गरिएको छ।