सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८२ सुरू


काठमाडौँ । सडक तथा सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै नागरिकको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले काठमाडौँ उपत्यकामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८२ सुरू गरिएको छ।

शुक्रबार गोङ्गबुस्थित नयाँ बसपार्कमा सम्पन्न शुभारम्भ कार्यक्रम काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा एआईजी तामाङले मनसुनको समयमा विशेष गरी बाढी, पहिरो र डुबानका कारण सडक अबरुद्ध, सवारी दुर्घटना र जनधनको क्षति हुन सक्ने सम्भावना रहेको बताउँदै, मनसुनसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे । उनले यस्ता दुर्घटना न्यूनीकरणका लागि प्रहरी मात्र होइन, सबै नागरिक, सरोकारवाला निकाय र यात्रुहरूको सजगता, सहभागिता र सहकार्य आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नवराज अधिकारीले वर्षातको समय नजिकिएसँगै मनसुनका कारण सडक र सवारी आवागमन प्रभावित हुने भएकाले यस किसिमको अभियान संचालन गरिएको जानकारी दिए ।

अभियान अन्तर्गत उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका यात्रु र चालकका लागि नयाँ बसपार्कसहित विभिन्न १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ। ती कक्षमार्फत यात्रुहरूलाई मनसुनसम्बन्धी जानकारी प्रदान गरिनेछ। शुक्रबारको कार्यक्रममा नागरिक सहायता कक्षको समेत उद्घाटन गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआईजी डा। गोबिन्द थापा, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासँग संलग्न विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरू, यातायात व्यवसायी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा नेपाल प्रहरीका विभिन्न तहका अधिकारीहरूको उपस्थिति थियो।