निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी बजेट विनियोजन भएको भन्दै सांसद थापाको असन्तुष्टि


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले निश्चित जिल्ला र क्षेत्र बाहेक नागरिकलाई नागरिक नै नसोचेको टिप्पणी गरेका हुन् । उनले निश्चित क्षेत्रलाई मात्रै अङ्कित गरेर विनियोजन बजेटले देशलाई कहाँ पु¥याउला ? भन्दै प्रश्न गरे ।

उनले समृद्ध नारा नभई समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने मात्रै देश समृद्ध हुने र नेपाली जनता सुखी हुने जिकिर गरे । उनले देशमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र उत्पादनलाई प्राथमिकतामा दिएर अगाडी बढ्नुपर्ने बताए ।

उनले राज्यको ढुकुटीलाई बलियो भए मात्रै त्यसले राष्ट्र निर्माणमा टेवा दिने जिकिर गरे ।वर्तमान सरकारले केही गर्ला भन्ने आशा रहे पनि झन् चुर्लुम्म डुबेको आरोप लगाए ।